कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले जिते विश्वासको मत

काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गर्नुभएको । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए ।

जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् । एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् । यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको थियो । तर, माधव नेपाल पक्षमा रहेका ४ सांसदले ह्वीप उल्लघंन गर्दै शाही सरकार जोगाइदिएका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया