स्वास्थ्य मन्त्रालयको आग्रहः राति ९ बजेपछि व्यवसाय नचलाउनु 

काठमाण्डौं, २६ चैत ।सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लङ्घन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले हिजो सूचना जारी गर्दै सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना सङ्क्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेस्टिगेसनका लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धीत स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टाइनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ । मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना सङ्क्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया