संविधान बोकेर एमाले शीर्ष नेताहरु मधेशमा खटिए

बारा, १३ साउन । तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमालेले प्रदेश नम्बर २ मा आफ्ना गतिविधि केन्द्रित गर्न थालेको छ । केन्द्रीय सचिवालयले महासचिव सहितका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लामा खटिने निर्णय गरेको छ ।

महासचिवको नेतृत्वमा मधेस कमाण्ड

एमालेले प्रदेश नं। २ को वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय खोल्ने निर्णय गरेको छ । तीन शहरमा पार्टीको कमाण्ड कार्यालय राखेर आठै जिल्लामा केन्द्रीय पदााधिकारीलाई चुनावी रणनीति तथा कार्यकर्ता परिचालन गरिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

महासचिव ईश्वर पोखरेलको कमाण्डमा पदाधिकारीहरु मधेसका जिल्लामा खटिनेछन् । महासचिव पोखरेल वीरगञ्ज, उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतटहट खटिनेछन् । रौतहट माधव नेपालको गृहजिल्ला हो । सचिवहरु योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही र भीम आचार्य सप्तरीमा खटिनेछन् ।

अर्का सचिव पृथ्वीसुब्बा गुरुङ महोत्तरीमा खटिनेछन् भने सचिवालय सचिव समेत रहेका प्रदिप ज्ञवालीले लाहानबाट कमाण्ड गर्नेछन् । २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले प्रदेश कार्यालयबाट चुनावी तयारी गर्नेछन् ।

बारामा केन्द्रित शीर्ष नेता

प्रदेश २ अन्तर्गत एमालेको बलियो संगठन र जनमत रहेको ठानिएको बारा जिल्लामा चुनाव केन्द्रित सक्रियता बढाएको छ । पार्टीक प्रभावशाली नेताहरुको आवतजावत पनि बाक्लिएको छ ।

साउन ३ गते बसेको एमालेको जिल्ला सचिवालयको बैठकसँगै निर्वाचनका लागि पार्टीका गतिबिधि सक्रिय बनाईएको एमाले प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिए । उनले एमाले बाराले जिल्लाका १५ वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण, भेला र बैठक सँगै जनसंगठनहरुलाई सक्रिय रुपमा परिचालन गरिएको जनाए ।

पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणमा पनि पार्टीलाई पहिलो स्थान दिलाउन २ नम्बर प्रदेशमा अभियान चलाइने प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल प्रायजसो प्रदेश नं। २ मै ब्यस्त छन् । उनी संविधान बोकेर मधेसीलाई संविधानले विभेद नगरेको भनेर बुझाउँदै हिडेका छन् ।

साउन १३ र १४ गते हुने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य शंकर पोखरेल आउँदैछन् । त्यस्तै साउन १५ हुने जिल्ला कमिटी बैठकमा उपमहासचिब बिष्णु पौडेल आउने कार्यक्रम तय भएको मनोज पौडेलले जानकारी दिए ।

फाईल फोटो

प्रकाशित मिति : २०७४ साउन १३ गते शुक्रवार
प्रतिक्रिया