कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज कोरोना खोप आइपुग्यो

काठमाण्डौ,२३ फागुन । कोभ्याक्स अन्तर्गत नेपालले पाएको झन्डै ३ लाख ४८ हजार डोज कोरोना विरुद्धको खोप आईतवार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालले अनुदानमा पाएको खोप टर्किस एयरको विमानमार्फत नेपाल ल्याइएको हो ।अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ। सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने भनिएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया