तुलसीपुरमा भोलिदेखि तेस्राे चरणकाे खोप अभियान सुरु हुँदै, ७ हजारलाई खोप दिने लक्ष्य

तुलसीपुर, २२ फागुन / तुलसीपुरमा भोलीदेखि कोरोना रोग विरुद्धको  तेस्राे चरणकाे  खोप   अभियान सुरु गरिने भएको छ । २३ गतेदेखि २९ गतेसम्म संचालन हुने खोप अभियानमा ६५ बर्षमाथिका ६ हजार ८सय ६२ जना र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, सुरक्षाकर्मी २ सय ४८ जना सहित ७ हजार १ सय १० जनालाई कोरोना रोग विरुद्धको खोप दिने लक्ष्य रहेको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ का फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

तुलसीपुरमा आयोजना गरिएको कोरोना रोग विरुद्धको खोप अभियानका विषयमा एक दिने अभिमुखीकरण गोष्ठिमा यस्तो जानकारी गराइएको हो । खोप अभियान पालो अनुसार वडाका सबै नगर स्वास्थ्य केन्द्रमा संचालन गरिने छ ।सो अवसरमा स्वास्थ्य कार्यालय दाङका कोरोना खोप फोकल पर्सन भानु ज्योति वलीले पनि प्रस्तुती राख्नु भएको थियो ।

पालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा खोप केन्द्रसम्म आउन नसक्ने जेष्ठ नागरिकलाई निशुल्क रुपमा खोप केन्द्रसम्म ल्याउने व्यवस्था मिलाउने नगर प्रमुख पाण्डेले बताउनुभयो । त्यसैगरी कार्यक्रममा तुलसीपुर उपहानगरपालिका  स्वास्थ्य  शाखा प्रमुख ओम प्रकाश न्यौपाने, तुलसीपुर उपमहानगरपालिका–१० का वडाध्यक्ष कुमार लामीछानेले आ–आफ्नो वडामा व्यापक रुपमा प्रचार गर्नु पर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया