प्रधानमन्त्री ओलीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूह र प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दै छ। दुवै पार्टीले दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय लिइने तयारी दुवै दलको छ।सकभर आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहबीच भइसकेको श्रोतको दाबी छ। ‘सकेसम्म आजै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ’, दाहाल नेपाल समूहमा रहेका एक सांसदले भने, ‘आज भएन भने आइतबार हुन्छ।’

दाहाल नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी तीव्र बनाएको हो। तर सरकारमा जाने नजानेबार कांग्रेस अनिर्णित छ। सरकारमा जाने नजानेबारे छलफल गर्न बिहीबार कांग्रेस पदाधिकारीको बेठक बसेको थियो। उक्त बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहबाट सरकारमा सहभागी हुन प्रस्ताव आएको जानकारी गराएका थिए।

देउवाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जाने बताएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाएका थिए। बैठकसकिएपछि प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जानेरनजाने निर्णय शुक्रबार बस्ने संसदीय दलको बैठकले लिने बताएका थिए। कांग्रेसले आजको बैठकमा सहभागी हुन सबै सांसदहरुलाई निर्देशन दिएको छ। पार्टीको निर्दशनपछि उपत्यका बाहिर रहेका सांसदहरु पनि काठमाडौँ आइरहेका छन्।

यता उपत्यका बाहिर रहेका नेकपा प्रचण्ड माधव समूहका सबै सांसदहरुलाई पनि काठमाडौँ बोलाइएको छ। हेटौंडामा रहेका प्रचण्ड माधव समूहमा रहेका सांसद विरोध खतिवडाले पार्टीको निर्देशनपछि काठमाडौँ आइरहेको बताए। पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ। नेकपाको ओली पक्षले संसद बैठक बस्नु एक घण्टा अघि २३ गते ३ बजेका लागि संसदीय दलको बैठक बोलाएपछि दाहाल नेपाल पक्षले त्यसअघि शुक्रबार नै बैठक बोलाएको हो।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया