लमहीका अधिकांस होटेलमा सरसफाईमा लापरवाही

दाङ, १९ फागुन ।होटेलको किचनमा फोहोरको डंगुर थुप्रीएको छ । फोहोरका कारण होटेल दुर्गन्धित हुनुको साथै झिँगा भन्किइरहेका थिए । किचन कालै कालो धैसोले ढपक्क पुरीएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तुलसिपुर र लमही होटल ब्यवसायी समितीले मंगलवार र बुधवार गरि दाङको लमहीका सत्र वटा होटलको अनुगमन गरेको हो ।

लमहीको रातो डाँडा स्थित होटेल पौवाको सरसफाईको स्तरमा अन्य होटेलको भन्दा धेरैै लापरवाही भएको पाईएको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले बताउनुभयो । अनुगमनका क्रममा उक्त होटेलमा देखिएका कमीकमजोरीलाई सुधार गरेर होटल संचालन गर्न सुझाब दिएको वडाध्यक्ष केसीको भनाई छ ।

होटल पौवाले ५६ अंक लिएर पहेंलो रंङको स्टिकर पाएको छ । अनुगमनको क्रममा उक्त होटलले सरसफाईमा धेरै भन्दा धेरै ध्यान दिनु पर्ने भएको छ, किचेन देखि लिएर फोहोर ब्यवस्थापनमा समेत सन्तोषजनक नभएको पाईएको हो ।खाद्य स्वच्छता अनुगमनमा सबै भन्दा न्यु होटल हिल साइडको व्यवस्थापनको पक्ष अत्यन्तै राम्रो पाइएको छ ।

साथै न्यु होटल हिल साइडले ९२ अंक लिएर तीन वटा स्टार प्राप्त गर्न सफल भएको छ । तिन वटा स्टार प्राप्त गर्नु भनेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता सम्बन्धि बनाएको मापदण्डको परिभाषामा अतिउत्तम मानिन्छ ।

बुधवार लमहीमा गरिएको अनुगमनमा होटल केडिआरले ८० अंक लिदै दुई वटा स्टार प्राप्त गरेको छ । त्यस्तै रातोडाडामा रहेको क्लासिक होटलले ७३ अंक लिदै एउटा स्टार पाएको छ । ए वान लभली स्टार ७९ अंक लिएर एउटा स्टार प्राप्त गरेको छ । त्यस्तै रोयल प्यालेसले ७८ अंक लिएर एउटा स्टार प्राप्त गरेको छ ।

होटल मुन साइन कफि एण्ड लजले ६६ अंक लिएर पहेंलो रङको स्टिकर पाएको छ । होटल हाइबेले ७८ अंक लिएर एउटा स्टार प्राप्त गरेको छ । टुडे प्लाजा होटलले ६८ अंक लिएर एउटा स्टार पाएको छ । त्यसैगरी राप्ती फेम्ली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसले ६९ अंक र न्यु होटल हाइबेले ७८ अंक लिएर एउटा स्टार पाएको छ ।

कार्यालय र होटल व्यवसायी समितिको निरन्तर अनुगमन पहलले गर्दा बितेको वर्ष भन्दा यो वर्षमा होटलहरुको स्तरीकरणमा सुधाए आएको लमही होटल व्यवसायी समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले बताउनुभयो । अनुगमनका क्रममा जुन होटलको अवस्था कम्जोर भेटिएको छ त्यस्ता होटललाई छिटो भन्दा छिटो सुधार गर्न आग्रह गरेका छाँै, अध्यक्ष पाण्डेले भन्नुभयो ।

यो आर्थिक वर्षमा पनि दाङका सबै बजारका होटल अनुगमन गर्ने कार्यक्रम रहेको छ । जस अन्तर्गत लमही क्षेत्रका होटलको अनुगमन सकियो, अब घोराही र बाहिरि जिल्लामा पनि गर्ने कि भन्ने कुरा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तुलसिपुरका कार्यालय प्रमुख विवेक बन्जराले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तुलसिपुरले साबिक राप्ती अञ्चलका पूर्वी रुकुम, सल्यान, प्युठान, रोल्पा र दाङ्ग गरि पांच वटा जिल्ला अनुगमन गर्ने गर्दछ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया