पोष्टमै सिमित अस्थायी ट्राफिक प्रहरी ‘लमही’

‘सवारी चालकको अटेरी, जथाभावी पार्किङ

दाङ, १८ फागुन ।दाङको लमही बजार पछिल्लो समय यता जथाभाबी पार्किङ्को कारण निकै अस्तव्स्त बन्दै गएको छ । न सडक रेखाहरू छन्, न ट्राफिक संकेतहरू । ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइदैंन । सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन् । पैदल यात्रुहरू पनि सडकमा मनपरी रूपमा हिँडिरहेका देखिन्छन् । जहाँ मन लाग्यो त्यहींबाट बाटो काटिरहेका हुन्छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही पोष्टमै सिमित देखीन्छ ।

दिउँसो केहि समय सडकमा निस्कदा देखिने दृश्यले अस्थायी ट्राफिक प्रहरी लमहीको व्यवस्थापनको अवस्था प्रष्ट्याउँछ । त्यति मात्रै होइन सवारी चालकले अटेरी गदै सवारी हुँइक्याउने गरेको पाईन्छ । लमही बजारको बीच बजारमा सवारीसाधन तीव्र गतिमा कुदिरहेका हुन्छन् । ट्राफिक लाइट, होर्डिङ्ग बोर्ड, जेब्राक्रस जस्ता चिन्हहरू न त लमही बजार क्षेत्रमा देख्न पाइन्छ । नत त्यसको प्रयोगमा नागरिकको चासो नै देखिन्छ ।

‘नो पार्किङ्’ लेखेको ठाउँमा समेत सवारी साधन राखेको धेरै ठाउँमा देख्न सकिन्छ । पैदल यात्रीलाई हिँड्नै सकस छ । बाटोको छेउछाउमा व्यापारीहरूले राखेको पसलको सामान र पूर्वपश्चिम महेन्द्र राजमार्गकै छेउछाउमा भएका ग्यारेज पसलहरूको कारण लमही बजार झनै कुरूप र असुरक्षित बनेको छ । ट्राफिक व्यवस्थापन नहुँदा लमही बजार अव्यवस्थित र कुरूप मात्रै बनेको छैन दुर्घटनाको जोखिम बढाएको स्थानीय पवन रिजालले बताउनुभयो ।

लुम्बिनी प्रदेश राजधानीको मुख्य बजार क्षेत्रको रुपमा रहेको लमही बजारमा जथाभाबी सवारी साधनले कानुन बिपरित पार्किङ् गरेको कारण लमही बजार अस्तव्स्त बन्दै गएको छ । जस्ले गर्दा लमही बजार कुरुप बन्दै जानुको साथै दुर्घटनाको जोखिम उतिकै बढ्दै गएको स्थानिय रिजालले बताउनुभयो ।लमही बजार क्षेत्रमा पार्किङ्को व्यवस्था छैन ।

लमहीको सनलाईट चोक, राष्ट्रिय बाणिज्य बैंक, गोलघर अगाडि, मालपोत रोड, बगँैचा रोड लगायत लमहीका अधिकांश मुख्य चोकमा कानुन विपरित थामि नसक्नु भिडभाड हुन्छ । तर यस विषयमा अस्थायी ट्राफिक प्रहरी लमही मौन बसको लमही निवासी शेरसिङ् खड्काले बताउनुभयो । यता अस्थायी ट्राफिक प्रहरी पोष्टका ईञ्चार्ज रञ्जित आचार्यले लमही नगरपालिका र देउखुरी उद्योग बाणिज्य संघ लमहीको आदेश विना आफु अगाडि नबढेको बताउनुभयो ।

‘म लमहीमा आउनु भन्दा पहिलै होर्डिङ बोर्ड त्यतिकै चाजिएर राखिएको थियो । यहाँका स्थानिय व्यापारीहरुले बजार क्षेत्रमा होर्डिङ् बोर्ड राख्न दिएनन् । त्यो राख्न पाए कारवाही गर्न सजिलो हुने थियो । उहाले भन्नुभयो । सुरुमा बार्ड छ भनेर जानकारी पाईएन । लमही नगरपालिकाबाट केही त्यस्तो निर्देशन आएको छैन । सम्बन्धित निकाय आदेश दियोस् बजार व्यवस्थापनमा सक्रियता देखाउछु, ईञ्चार्ज आचार्यले भन्नुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया