दाङमा ६४ हजार बढीलाई तेस्रो चरणमा कोरोना विरुद्धको खोप

घोराही, १६ फागुन / दाङमा ६४ हजार बढीलाई तेस्रो चरणको खोप लगाउने तयारी गरिएको छ । कोभिड–१९ विरुद्धको खोप अभियान अन्र्तगत जिल्ला खोप समन्वय र पत्रकारहरुसंग घोराहीमा गरिएको छलफलमा यस्तो जानकारी दिएको हो । कोरोना विरुद्धको तेस्रो चरणको समुदाय लक्षित खोप फागुन २३ गतेदेखि सुरु हुनेछ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अङगद बहादुर शाहीले दाङका १० वटा पालिकामा ६४ हजार ५ सय ७७ जनालाई खोप लगाउने तयारी गरिएको बताउनुभयो । शाहीका अनुसार समुदाय लक्षित खोप कार्यक्रम अन्र्तगत तुलसीपुरमा १६ हजार एक सय ८४, घोराहीमा १७ हजार ८सय १९ , शान्तिनगरमा ३ हजार ७ सय ७६, दंगीशरणमा २ हजार ६ सय ८७, बबई गाउँपालिकामा ३ हजार ४ सय ८१, लमहीमा ४ हजार ८ सय ६६ , गढवामा ३ हजार ४ सय २९ , राजपुरमा २ हजार ९ सय ५ , बंगलाचुलीमा ३ हजार ९ सय ९५ र राप्ती गाउँपालिकामा ५ हजार ४ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

यस अघि दाङमा पहिलचो चरणमा वृद्धाश्रममा आश्रीत तथा हेरालु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स ड्राइभर, पालिका सरसफाईकर्मी, स्वयमसेवीका, स्वास्थ्यकर्मी २ हजार ९ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । त्यसैगरी दोस्रो चरणमा पत्रकार, सशस्त्र प्रहरी, जनप्रतिनिधी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, निजामती कर्मचारी, जनपथ प्रहरी, कैदी तथा सुरक्षाकर्मी सहित ४ हजार ९ सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

खोप समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया