छ महिनाभित्र नाका क्षेत्रमा संचार सुविधा

‘भारतीय सिमबाट मुक्ती पाउँदै नाकाबासी’

देउखुरी १५ फागुन ।भारतसंग सिमा जोडिएको दाङको नाका क्षेत्रमा छ महिना भित्र संचार सुविधा पुग्ने भएको छ । संञ्चार सुविधा नहुँदा भारतीय सिम चलाएका दाङका नाका क्षेत्रका नागरिकले अबको छ महिना भित्रै नेपाली सिम प्रयोग गरी कुराकानी गर्न पाउने भएका छन् । दाङको राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको नाका क्षेत्र अति बिकट क्षेत्र मानिन्छ । जसमा चौतिसवटा नाका रहेका छन् ।

भौगोलिक विकट्ताका कारण यातायातको सहज सुविधा नपुगेको नाका क्षेत्रमा संचार सुविधा पुग्ने भएपछि स्थानीयहरु खुसी भएका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ का भौवा नाकाका स्थानीय श्यामवहादुर झाँक्रीले आफुहरुले अहिले पनि भारतीय सिम चलाइरहेको बताउनुभयो । उहाँले भन्न्ुभयो, भारतीय सिम पाउनै मुस्किल छ, त्यसमा महङ्गो शुल्क तिर्नुपर्छ अब नेपाली सिम चलाउन पाइने भएपछि खुसी लागेको छ ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ भैंसही नाका निवासी पुर्ण रोकाले नेपाल टेलीकमले नाका क्षेत्रका तीन स्थानमा टावर खडा गर्न लागेकोले अब घरबाटै सहजै संचार सुविधा प्रयोग गर्न पाइने बताउनुभयो । नेपाली टावर नटिप्ने, टावर खोज्न अग्लो डाँडा खोज्नुपर्ने कित भारतीय सिम चलाउनुपर्ने अवस्था थियो, अब टावर बनेपछि नेपाली सिम प्रगोग गर्न पाइनेभयो,उहाँले भन्नुभयो । नेपाल टेलिकम दुरसञ्चार कार्यालयले दाङको नाका क्षेत्रमा तीनवटा टावर राख्दै छ ।

जसमा राजपुर गाउँपालिकाको वडा नम्बर १ पटौली नाकाको देउराली डाँडा, वडा नम्बर ६ को खाङग्राको गरुल भिरमा र वडा नम्बर ७ को भौवा नाकाको स्याले डाँडामा टावर राख्नेगरी काम भइरहेको छ । नेपाल टेलीकम दुर संचार कार्यालय तुलसीपुरका प्रमुख हरी खनालले टावर बनाउने काम शुरु भइसकेको जानकारी दिनुभयो । उहाँको भनाइ अनुसार अबको छ महिना भित्र काम सम्पन्न हुने र दाङको नाका क्षेत्रमा टेलीफोन सेवा पुग्ने छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार
प्रतिक्रिया