
बाँके,६ माघ । बाँकेमा होम आइसोलेशनमा बसेका थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमवार राती होम आइसोलेशनमै मृत्यु भएको हो ।
पुष २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेशनमा बसेका उनको गएराति साढे ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यस्तै होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका उनलाई एक्कासी बेहोस भएपछि आज विहान ६ बजे भेरी अस्पताल लगिएलगत्तै ६ बजेर १० मिनेटमै मृत्यु भएको हाे । उनलाई पुष २८ गते कोरोना पुष्टि भएको हो । योसंगै बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।