दाङमा छ वटा पालिका सरकारी अस्पताल विहिन

तुलसीपुर, १ माघ । दाङमा छ वटा पालिकामा सरकारी अस्पताल शुन्य रहेको छ । जिल्लाका दश वटा पालिका मध्ये चार वटा पालिकामा मात्रै हाल सम्म सरकारी अस्पताल रहेको स्वास्थ्य कार्यालय दाङको तथ्याङकले देखाएको छ । कार्यालयको आर्थिक वर्ष ०७६÷०७७ को बार्षिक प्रतिवेदन अनुसार जिल्लाको तुलसीपुर र घोराही गरी दुई उपमहानगरपालिका , लमही नगरपालिका र बंगलाचुली गाउँपालिका गरी चार वटा पालिकामा सरकारी अस्पताल सन्चालनमा रहेको उल्लेख छ ।

अन्य छ पालिकामा सरकारी स्वास्थ्य संस्था सन्चालनमा भएता पनि सरकारी अस्पताल भने शुन्य छ । तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल सन्चालनमा छन् । यस अघि राप्ती अन्चल अस्पतालका रुपमा सन्चालनमा थियो ।घोराहीमा राप्ती उपक्षेत्रिय अस्पताल अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास भएको छ ।

यस्तै लमही नगरपालिकामा लमही अस्पताल सन्चालनमा छ भने बंगलाचुली गाउँपालिकामा १५ शैयाको बंगलाचुली अस्पताल सन्चालनमा छ । तर सरकारी अस्पताल नहुनेमा पश्चिम दाङको शान्तीनगर, बबई, दंगीशरण,राजपुर, गढवा र राप्ती गाउँपालिका रहेका छन् । उक्त पालिकामा सरकारी स्वास्थ्य संस्था मात्रै सन्चालनमा छन् ।

जिल्लामा सर्वभन्दा धेरै गाउँघर क्लिनिक र खोप क्लिनिक सन्चालनमा रहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जिल्लाभर २१२ वटा खोप क्लिनिक र १२७ वटा गाउँघर क्लिनिक छन् । यस्तैगरी स्वास्थ्य चौकी ३६ वटा, बर्थिङ सेन्टर ३५ वटा, सामुदायिक स्वास्थ्य ईकाई केन्द्र १८ वटा, शहरी स्वास्थ्य केन्द्र २६ वटा, आधारभुत स्वास्थ्य सेवा केन्द्र १९ वटा र प्राथमिक स्वास्थ्य केन्द्र २ वटा रहेको कार्यालयले बताएको छ ।

तर सरकारले सरकारी अस्पताल नभएका देशभरका पालिका स्तरमा ५ देखी १५ शैयाको अस्पताल सन्चालन गर्ने योजनालाई अघि सारेको छ । सोहि अनुसार केहि समय अघि अस्पताल भवनको शिलान्यास समेत भईसकेको छ ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया