राप्ती लाइफ केयरमा दूरविनविधीबाट अपरेशन सेवा

तुलसीपुर, २९ पुस ।दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिले दूरविनविधीबाट अपरेशन सेवा सुरु गरेको छ । हस्पिटलका निर्देशक जीवन भण्डारीका अनुसार विरामीहरुको माग अनुसार तुलसीपुरमा यो सेवा सुरु गरिएको हो । अब पित्तथैली, एपेन्डिसाईड, पत्थरी, डाईग्नोष्टिक ल्याप्रोसकपी सेवाकालागि जिल्ला बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको उनले बताए । सिटि स्क्यान, भिडियो एक्सरे नदेखाएका समस्याहरु समेत यसले सहजै देखाएर उपचार गर्ने उनले बताए ।

यो सेवा सुरु भएपछि उपचारकालागि पेट चिर्नुपर्ने, घाउ पाक्ने, लामो समय भर्ना हुनु पर्ने अबस्थाको पनि अन्त्य हुने भण्डारीले बताए ।‘हामीले यसबाट उपचार गर्दा पेट चिर्नुपर्ने अबस्था पनि रहदैन, कलम जतिकै सानो मेसिन शरिर भित्र पठाउने समस्या देखिएको स्थानमा त्यसैले उपचार गरि निकाल्न सकिन्छ’, उनले भने‘यसबाट उपचार गर्न दुई दिन भन्दा बढि लाग्दैन्, र ठूलो घाउ हुने अबस्था पनि आउँदैन ।’ यो सेवा अस्पतालका डा. शुसिल खनियाले प्रदान गर्नेछन् । साथै अस्पतालमा केही समयमा इन्डोस्कपी सेवा समेत सूचारु गर्ने गरि तयारी थालिएको छ ।

अस्पतालले कल्चरसहितको आधुनिक प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । अहिले अस्पतालले सहुलियत सेवा कार्ड पनि वितरण गरेको छ । उक्त कार्ड लिएपछि सोही ब्यक्तिलाई १५ प्रतिशत छुट हुनेछ, भने परिवारका सदस्यलाई १० प्रतिशत छुट हुने निर्देशक भण्डारीले बताए । ५५ बेडको उक्त अस्पतालले विरामीको माग अनुसार सेवा सुविधा थप गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया