मतदान सकियो, दाङमा ७० प्रतिशत मत खस्यो

तुलसीपुर,१४ असार ।
आज भएको स्थानिय तह निर्वाचनमा दाङमा करिब ७० प्रतिशत मत खसेको छ । दश तहको ३ सय ५१ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब करिब ७० प्रतिशत मत खसेको दाङका मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिनुभएको छ । निकै उत्साहका साथ चुनाव भएको समेत उहाँले बताउनुभयो । २ लाख ९१ हजार १५० मतदाताका लागि ३ सय ५१ मतदान केन्द्र तोकिएको थियो ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाकाका १ सय ५१ मतदान स्थल अन्तर्गत ३ सय ५१ केन्द्रमा मतदान भएको हो । निर्वाचनबाट ५ सय २० जनप्रतिनिधि चयन हुँदैछन् । केही ठाउँमा मतदातालाई त्रसित पार्न बिस्फोटक पदार्थ राखेको पाइए पनि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदानमा अवरोध हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपत्रका बाकसहरु आ आफ्ना पालिकामा ल्याउने काम भैरहेको छ । सम्भव भए सम्म आज नभए भोली देखी मतगणना हुने भएको छ । राजनितिक दलहरुको सर्बदलिय बैठक बसेर मतगणनाको समय निर्धारण हुने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असार १४ गते बुधवार
प्रतिक्रिया