मतदाता लाई परिचयपत्र वितरण गरीदै

तुलसीपुर,११ असार ।
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्न सुरु गरएिको छ । दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका मतदातालाई आजदेखि पर्सी मंगलबारसम्म परिचयपत्र वितरण हुने आयोगले जनाएको छ ।

दोस्रो चरणमा मतदान गर्न पाउने ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका परिचयपत्र सम्बन्धित जिल्लामा पठाइसकेको आयोगले जनाएको छ । आयोगले मतदाता परिचयपत्र विना मतदान गर्न नपाइने भएकाले आफ्नो मतदान केन्द्रमा गएर परिचयपत्र लिन आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्रमा पुग्नुपर्नेछ । कुनै कारणले आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा अथवा नागरिकताको प्रमाणपत्र दिएर पठाउन सकिने आयोगले जनाएको छ ।

परिचयपत्र लिन आउनेका लागि मतदाता शिक्षा पनि सँगै दिइने भएको छ । मत बदर नहोस् भनेर परिचयपत्र लिन आउनेलाई फेरि नमुना मतपत्र देखाएर भोट हाल्ने तरिका सिकाउने आयोगका मतदाता शिक्षा फोकल पर्सन सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

तस्वीर दशरथ घिमिरे

प्रकाशित मिति : २०७४ असार ११ गते आइतवार
प्रतिक्रिया