रुकुमको सिस्नेमा कांग्रेस र एमालेबिच चुनावी तालमेल

रुकुम, ८ असार ।

चुनाव हुन बाँकी रुकुमका तीन गाउँपालिका मध्ये सिस्ने गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच चुनावी तालमेल भएको छ । माओवादी केन्द्रको प्रभाव रहेको गाउँपालिका अध्यक्ष नेकपा एमाले र उपाध्यक्ष नेपाली कांग्रेसले लिने गरी चुनावी तालमेल भएको हो । कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएकी सरीता बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका नन्दलाल शर्मालाई सघाउने र उपाध्यक्षमा कांग्रेसका लक्षिराम घर्तीलाई सघाउने सहमति भएको हो ।

यस्तै वडाहरुमा पनि तालमेल भएको छ । चुनावी तालमेल भएपछि एमाले कांग्रेस संयुक्त प्रचारमा लागेका छन् । ८ वडा रहेको गाउँपालिकाका तीन वडामा भने एमाले र कांग्रेसका आ–आफ्नै उम्मेदवार छन् । पूर्व आपूर्ति तथा बाणिज्य मन्त्री तथा नेकपा माओवादीको भातृ युवा संगठन वाइसियलका पूर्व अध्यक्ष गणेशमान पुनको समेत यही गाउँपालिका पर्छ ।

यसअघि चुनाव भएका रुकुमका ६ गाउँपालिकामा माओवादीले जितेको थियो । सिस्ने गाउँपालिकामा ८ हजार ६ सयको हाराहारीमा मतदाता संख्या रहेको छ । साबिकको प्वाङ, सिस्ने, स्यालापाखाको केही भाग, पिपलको केही भाग र पोखरा, रुकुमकोट गाविस समावेस गरेर सिस्ने गाउँपालिका बनाइएको हो । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट कुमारी बराल अध्यक्षको लागि मैदानमा हुनुहुन्छ । रुकुमको पूर्व सदरमुकाम रहेको रुकुमकोट अहिलेको गाउँपालिका केन्द्र रहेको छ । सिस्ने गाउँपालिकामा एमाले कांग्रेसबिच तालमेल भएपनि भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा भने भएको छैन ।

प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार
प्रतिक्रिया