२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त

काठमाडौ, १२ मंसीर । देशभरका विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ । धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिईन् ।

हालसम्म करिव ६० जिल्लाबाट मात्र विवरण प्राप्त भएको र त्यसमा २१ जिल्लाका विभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको उनले बताईन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ ।

प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई–दुई जिल्लाका दुई÷दुई स्थानीय तहमा दुई÷दुई वडाध्यक्षको पद खाली छ ।संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया