निर्वाचनमा उम्मेदवार भएकालाई आज निर्वाचन चिन्ह प्रदान गरिदै

काठमाण्डौ,६ असार ।
यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ का ३ सय ३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई आज निर्वाचन चिन्ह प्रदान गरिंदै छ । निर्वाचन आयोगका अनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आज नै बिहान ११ः३० बजेदेखि अपराह्न ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । यसैबीच, स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरुमध्ये हालसम्म ६२ हजार ९ सय २६ को विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । यस्तै निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने सचिव मैनालीले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ असार ६ गते मङ्गलवार
प्रतिक्रिया