संविधान सभा सदस्य मानपुर चौधरीको कोरोनाका कारण मृत्यु

काठमाडौ, ११ कात्तिक । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार मृत्यु भएको हो ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो ।ज्वरोबाट पीडित ५५ वर्षका चौधरीलाई श्वास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।

त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।यसपछि उनलाई घर ल्याइएको थियो । घरमा पुनः बिरामी भएपछि कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उहाँको उनको मृत्यु भएको कञ्चनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया