आज  विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

काठमान्डाै,१० कार्तिक ।  आज विजयादशमी   पर्वकाे मुख्य दिन् । जसलाइ बडा दशैं पनि भन्ने गरिन्छ ।    मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको  छ भने  देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको  ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतः साइत खोज्न नपर्ने पनि समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीडभाड लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया