दशैँको आठौं दिन अर्थात दुर्गा भवानीको पुजाआराधना गरी मनाईदै

 काठमाडौ, ८ कात्तिक । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।
बडादशैँको आठौं दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आजैका दिन राति कालरात्रि मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डाक्टर रामचन्द्र गौतमले बताए । आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरमा पनि भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विधिपूजा मात्रै हुनेछ ।

यस्तै नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत देशभरका विभिन्न शक्तिपीठमा पनि यसवर्ष विधिपूजा मात्रै हुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया