राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उदघाटन

काठमाडौ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उदघाटन गरेकी छिन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । उदघाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरेकी छिन् ।

यस्तै उनले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशासमेत व्यक्त गरेकी छिन् । झण्डै तीन सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व भएको भण्डारीले बताईन् ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुने पनि उनले बताईन् । यसबाट काठमाण्डौ उपत्यकाको विकास मात्रै नभइ पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । रानीपोखरीको पुनर्निर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी हुन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर)शैलीमा पुननिर्माण गरिएको छ ।

रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको झण्डै पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ । रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलीमा निर्माण गर्न सहयोग पुर्‍याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरीन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया