चुनढुङगा ढुवानी गर्न टिप्परलाई तिन महिना रोक

दाङ, २५ असोज । दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगहरुको चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्परहरुलाई ३ महिना रोक लगाउने निर्णय गरेको छ । बंगलाचुली गाउँकार्यपालिकाको बैठकले मदन भण्डारी लोकमार्गमा पर्ने घोराही कमिरचौर सडक खण्ड कालोपत्रे नहुँदासम्म र तापाचोक –तापाखानि क्षेत्र पुग्ने सडक खण्डलाई तत्काल कालोपत्रे प्रक्रिया अघि नबढाउँदा सम्म चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्परहरुलाई ३ महिना पूर्णरुपले बन्द गरिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए ।

यस गाउँपालिका क्षेत्रभित्ररहेको घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परका कारण मदन भण्डारी लोकमार्गको अवस्था विग्रिदा वर्षामा हिलो, हिउँदमा धुलो भई यस क्षेत्रका हजारौँ जनताले निकै सास्ती खेप्नु परेको हुँदा अव सडक कालोपत्रे नहुँदा सम्म टिप्परहरु रोकिएको अध्यक्ष वलीले जानकारी दिए ।गाउँपालिकाले सडकको कालोपत्रे गर्ने जिम्मा लिएको जलजला निर्माण सेवा प्रा.लि.लाई समयमै कालोपत्रेको काम सक्नेगरी काम लगाउन सडक डिभिजन कार्यालय घोराहीलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया