कोरोनाकै कारण वडाध्यक्षको निधन

दाङ,२५ असोज । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। प्रमोद पौडेलले जानकारी दिए ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पान्जली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।

फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको डा.पौडेलले बताए ।चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया