कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा गम्भिर समस्या

तुलसीपुर, २४ असोज / स्वासप्रस्वासमा गम्भिर समस्या देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी सचेतक चौधरीको स्वास्थ्यमा सुधार नआएपछि गएरातिदेखि आईसीयुमा सारिएको हो । चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

‘असोज १८ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि चेक गराउँदा असोज १९ गते कोरोना पुष्टि भयो,’ चौधरीका स्वकीय सचिव सन्तोष दहितले भने–‘ बाहिर राखेर उपचार गराउँदा झनै समस्या भएपछि हिजोसाँझबाट आईसीयुमा राखिएको छ ।’

चौधरीलाई निमोनिया देखिएपछि उपचारमा झनै समस्या देखिएको दहितले बताए । चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनलाई २०७१ सालमा स्तन क्यान्सर पनि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचारपछि उनले क्यान्सर जितेकी थिइन् ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया