चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

दाङको विभन्नि नाकामा सशस्त्रको गस्ती

दाङ, २३ असोज / दाङमा चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय दाङ प्रहरीका प्रवक्ता प्रहरी सुमित खड्का अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । ‘प्रहरीले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारी थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुवात समेत गरिएको छ ।’ प्रहरी प्रमुख चन्दले भने ।

यता वडा प्रहरी कार्यालय लमहीले पनि सुरक्षाअवस्थालाई कडाई गर्ने तयारी थालेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक राजन पौडेले जानकारी दिए ।  लमही नगरपालिकासंग समन्वय गरि मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको लमहीका प्रहरी निरिक्षक पौडेले जानकारी दिए ।

सिमा अपराध गतिविधि नियन्त्रण गर्न गस्ती परिचालन

यता चाडपर्व नजिकिदै गर्दा सशस्त्र प्रहरी बलले पनि सुरक्षा सक्रियता र निगरानी बढाएको छ । पूर्वपश्चिम राजमार्ग देखि दाङको गढवा र राजपुर क्षेत्रमा पर्ने चौतिस वटा नाका क्षेत्रमा सुरक्षा सक्रियता र निगरानी बढाएको हो ।

सिमा क्षेत्रमा हुने अपराध गतिविधि नियन्त्रण गर्नको लागी विभिन्न नाकामा ४५ जना सशस्त्र प्रहरी बल परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख मात्रव ढुङगेलले जानकारी दिए ।

‘भारतसंग जोडिएको मुख्य कोइलाबास नाका पूर्णरुपमा आवत जावत बन्द छ । नाकाको अन्य बैकल्पिक बाटो प्रयोग गरेर तस्करीहरुले गर्ने पटका सम्बन्धी तस्कर र सिमा अपराध नियन्त्रण गर्नको लागी मुसि, खबरी र गुरुङ्नाकामा पन्ध्रजनाको दरले पैतालिस जना सशस्त्र प्रहरी बल परिचालित गरिएको छ ।’ ‘अपराध नियन्त्रण गर्न हामीले भारतीय एस.एस.वि.संग सहकार्य गरि रातदिन गस्तीलाई तिब्रता दिएका छाँै ।’ उनले भने ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया