डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यका अनुसार केसीको शरीर गल्दै गएपछि प्रतिमिनेट चारदेखि ६ लिटर अक्सिजन दिइएको छ । यस्तै, उनको शरीरमा सुगरको मात्रा घटेको छ । डा. केसीको मुटुको चालमा बेलाबेला गडबडी देखिएको छ ।

डा. केसी अनशन बसेको २४ दिनपछि सरकारले उनीसँग वार्ता गर्न बिहीबार वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले शक्रबार आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सो दिन २ घण्टा आकस्मिक र कोभिडबाहेकका सबै सेवाप्रवाह बहिष्कार गर्ने र सो समयमा पनि डा. केसीका माग पूरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको हो ।

डा. केसीका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै आकस्मिक र कोभिडबाहेकका सेवाप्रवाहलाई बहिष्कार गर्ने निर्णय संघले गरेको छ । यसका साथै २२ गतेपछि कालोपट्टी बाँधेर सामाजिक सुरक्षाका उपाय अपनाउँदै रिले अनशन जारी राख्ने कार्यक्रमसमेत संघले तय गरेको छ । यस्तै, अनशनरत डा. केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षत्रीले देशैभरबाट कोभिडविरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आआफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अपिल गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी, डँडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन् ।

आफूसँग १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्नेलगायतका मागहरू राखेर डा. केसीले अनशन सुरु गरेका हुन् ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया