
दाङ, २० असोज । दाङको भालुवाङमा ५ नम्बर प्रदेशको स्थायी राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा आज (मंगलवार)प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेश सभाको बैठक मध्यान्ह् १२ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।
प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा गरिएको प्रस्तावमा संसोधन हाल्न बिहान साढे १० बजेसम्मको समय सांसदलाई दिइएको छ । सचिव पुनका अनुसार हालसम्म प्रदेशको नामाकरणको सम्बन्धमा एउटा मात्र संसोधन प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको चार दिनअघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो ।
आज मंगलवारको प्रदेश सभा बैठकमा संसोधन हाल्न प्रस्ताव फिर्ता लिन चाहेमा समय दिइनेछ । यसअघि सरकारले ल्याएको प्रस्तावमा मतदान आजै हुने छ । प्रस्ताव पारित हुनका लागि जम्मा सांसद संख्या ८७ को ५८ मत खस्नुपर्नेछ ।