
दाङ, १९ असोज । जंगलमा वेवारिसे बच्चा छोडेको आरोपमा एक महिला सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सल्यान शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने नवजात शिशु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।अनुसन्धान गदै जाँदा २८ दिने बच्चाको आमा सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा शारदा नगपालिका वडा नं ३ बस्ने ३५ बर्षिया शान्ता परियार र सोहि नगरपालिका वडा नम्वर २ पानिखोला बस्ने ३८ बर्षिय दान बहादुर भण्डारी रहेका छन् ।
उनीहरु दुवैजनाको विच अवैध यौन सम्वन्धबाट बच्चा जन्मिएको हुदा बेवारिसे जंगलमा छोडिएको बुझिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिएका छन् । ती दुवै जना गत वर्ष कात्तिकमा रोजगारीको शिलसिलामा भारतको उत्तराखंडमा सँगै गएको र दुवैजना अहिले दशैं मान्न घर संगै फर्केका हुन् । प्रहरीका अनुसार उनीहरु श्रीमान् श्रीमती होईनन् । पुरुष विवाहित हुन भने महिलाले यस अघि नै सम्वन्ध विच्छेद गरीसकेको प्रहरीले बताएको छ ।
भारतबाट घर फर्किदा बच्चालाई घर नलैजाने सहमती अनुसार जंगलमै छाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
गाडडाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगर आईतवार आईपुगेका हुन् । सोमवार विहान मर्निङवाकमा हिडेका मानिसले जंगलमा बच्चालाई देखेपछि प्रहरीलाई खवर गरेका थिए । उद्धार गरिएको बच्चालाई जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।