तुलसीपुरमा फड्के किराको प्रकोप अध्ययन

किसानलाई किरा र रोग छुट्याउन किट विज्ञको सुझाव

तुलसीपुर १८ असोज । कुनै पनि किसानले कृषि खेती गर्दा विउँ,किरा र रोगको बारेमा जान्न र सिक्न जरुरी रहेको हुन्छ । कृषकले कुनै पनि व्यवसायिक अथवा पेशागत कृषिखेती गर्दा राम्रो गुणस्तरयुक्त विउँको छनोट गर्ने कुरालाई विशेष ख्याल गर्नुपर्दछ । साथै खेती गर्दा सुरुदेखि अन्तिमसम्म बालीमा लाग्ने विभिन्न प्रकारका प्रकोप मध्ये किरा वा रोग कुन हो भनेर छुट्याउन आवश्यक छ । तर किसानहरु भने यसलाई छुट्याउन झुक्किने गरेका छन् । उनीहरुले धानबालीमा लाग्ने किराको प्रकोप भनेर रोगको विषादी र रोगको प्रकोप भनेर किराको विषादी प्रयोग गरेको पाईएको छ ।

यसले गर्दा प्रकोप नियन्त्रण हुनुको साटो झनै समस्या आउने नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय किट विज्ञान अनुसन्धान केन्द्र खुमलटारका किट बैज्ञानिक डाक्टर नरेश डाँगीले बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानमा किसानले लगाएको धानखेतीमा देखिएको फड्के किराको प्रकोपबारे स्थलगत अध्ययन तथा अनुगमन गर्दा यस्तो पाईएको उनले बताएका छन् ।

तुलसीपुर २ बालापुर स्थित धानखेतीमा फड्के किराको प्रकोप देखापरे पछि अनुसन्धान सुरु भएको उनले वताए । उनले भने ‘ हामीहरु पुग्दा कतिपय किसानलाई रोग र किराको बारेमा थाहा नभएर अनुमानका भरमा विषादी हाल्ने गरेको पाईयो । खेतमा पुगेर स्थलगत अध्ययन गर्दा कृषकहरुले रोग भन्ने गरेता पनि त्यसो नभई किराको प्रकोप थियो ।’ धानखेतीमा किराको प्रकोप बढी देखिने गर्दछ ।

खैरो र सेतो गरी दुई प्रकारको फड्के किरा मध्ये खैरो किरा फैलिएमा बढि क्षति गर्दछ । फड्के किरा धान उम्रनेदेखि धान काट्ने बेलासम्म १ देखि ९ वटा अवस्था हुन्छ । फड्के किराले धानको गाँझ हाल्नेदेखि काट्ने बेलासम्म धानमा क्षति पु¥याउन सक्ने उनको भनाई छ ।किसानले किराको प्रकोपबाट जोगाउन धानले बोटमा गाँझ लगाउनदेखि बाला हाल्ने अर्थात फुल्नुुभन्दा अगाडीसम्म ध्यान दिनुपर्ने उनले बताएका छन् । त्यहाँका किसानले समयमै थाहा नपाउदा किराले धानमा क्षति पु¥याएको उनको भनाई छ । ‘तर धेरै क्षति हुनबाट जोगिएको छ ।’ उनले भने ।

साथै किसानहरुले धानमा इमिडाक्लोफिड र ईमामेट्रिबेन्जोयर नामक विषादी प्रयोग गरेको पाईएको छ । खासगरी धानको बोटमा गाँझ आउने बेला बुफ्रोफेजिन नाम विषादी हाल्दा उसले किराको प्रकोप नियन्त्रण हुने उनको भनाई छ । किराले पहिलो अवस्थाबाट सुरुवात भई पाँच अवस्थासम्म रुप परिवर्तन गर्ने हुँदा यस्तो विषादी हाल्दा उसले तिन पुस्तासम्म बृद्धि गर्ने बंश पहिलो अवस्थामै रोकिने बताईएको छ ।

त्यसैले कुन विषादीले के फाईदा गर्छ भन्ने विषयमा किसानले थाहा पाउन आबश्यक रहेको उनको भनाई छ । धानमा गोबारो रोग पनि लाग्ने हुदा किसानले रोग र किरा छुट्याउन सक्नुपर्ने विज्ञको सुझाव छ ।तुलसीपर १२ रझेनास्थित रिषिराम घर्ति, शान्तराज गौतम, मान बहादुर नकाल लगाएतका स्थानीय किसानले लगाएको धान खेतीमा पनि सोहि किराको प्रकोप देखापरेको छ । अनुगमन टोलीले तुलसीपुर १३ बखरियामा पुगेर पनि प्रकोप बारे अध्ययन गरेको हो । बखरियामा सात÷आठ कठ्ठा क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ ।

जनप्रतिनिधि सहितको टोलीले किसानहरु संग भेटघाट गरी किराको प्रकोप र रोगको बारेमा छलफल समेत गरिएको डाँगीले बताएका छन् ।सो अवसरमा किसानहरु परामर्श गर्दै सवैभन्दा पहिले किसानले खेती गर्दा विउँको छनोटमा ध्यान दिनु पर्ने सुझाव दिईएको उनले बताएका छन् । बोटमा प्रकोप भए नभएको बारेमा जानकारी लिने र बेलाबेलामा कृषि प्राविधिकसंग सल्लाह सुझाव लिनुपर्ने सुझाव दिईएको छ ।

‘सकभर किसानले कुनै पनि खेती गर्दा लगानी थोरै आम्दानी धेरै अर्थात उत्पादन धेरै कसरी गर्न सकिन्छ भन्ने बारेमा ख्याल गर्नुपर्ने हुन्छ’ । सोहि अवसरमा किसानहरुले कृषि समस्या बारे विज्ञहरुलाई सुनाएका थिए । अनुगमनमा नेपाल कृषि अनुसन्धान परिषद खुमलटारका विकास भुसाल, तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख धनराज गौतम, कृषि अधिकृत कुलराज चौधरी, सम्वन्धित वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया