संघियताले राप्ती आँखा अस्पतालको स्वरुप बदल्दै

तुलसीपुर १२ असोज । राप्ती आँखा अस्पताल रक्षाचौरमा संघियता आएपछि मात्रै सरकारको नजर पुगेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।विगतमा विदेशी दातृ संस्था तथा दाताहरुको सहयोगमा आँखा उपचार सेवा प्रवाह गदै आएको अस्पतालले संघियता आईसकेपछि स्थानिय तह देखी संघिय सरकारको सहयोग पाएपछि सेवा प्रवाहमा थप सहजता भएको नेपाल नेत्रज्योती संघ जिल्ला शाखा दाङका सचिव सुरेन्द्र खड्काले बताएका छन् ।

देशमा संघियता आउनु अघि राज्यको नजर कम पुगेको भन्दै अहिले स्थानिय तह देखी संघिय सरकारको ध्यान पुगेपछि अस्पतालको भौतिक विकास हुनुको साथै सेवा प्रवाहमा थप सहजता भएको उनले बताएका छन् । तिनै तहका सरकारसंग हातेमालो गदै अहिले आँखा उपचार सेवा प्रदान गदै आएकोमा संघियता नहुदा यस अघि राज्यको नजर कम पुगेको उनले बताएका छन् । अहिले तिनै तहको सरकारबाट साथ र सहयोग पाएपछि सेवा प्रवाहमा थप सहजता भएको छ । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल रक्षाचौरले ४१ औँ सामाजिक सेवा दिवसको अवसर पारेर आईतवार आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कोभिड १९ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका संग आफुहरुले पहिलो पटक सहकार्य गरी मोतियाबिन्दुको निशुल्क उपचार गरी उज्यालो प्रदान गर्ने अभियान चलाएको उनले बताएका छन् । यस अभियानले देशभर नै राम्रो सन्देश दिएको उनको भनाई छ । आफुहरु निस्वार्थ रुपमा सामाजिक सेवामा तत्पर भईरहदा राज्यको भरपर्दो सहयोग नपाएकै कारण विगतमा भौतिक र प्रविधिको विकासमा पछि परेको उनले बताएका छन् । तर अहिले तिनै तहको सरकार संग समन्वय र सहकार्य गदै आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहजता भएको उनले बताएका छन् ।

राप्ती आंखा अस्पतालको ओ.पि.डि भवनको पहिलो तलाको लागि तुलसीपुर उपमहानगरपालिकाको ५० लाख बजेटबाट निमार्ण कार्य सम्पन्न भएको उनले बताएका छन् । यस्तैगरी लमही आँखा अस्पतालको कर्मचारी आवास भवनको लागि सासद विकास कोषको ५० लाख बजेटबाट मुताविकको काम सम्पन्न भएको उनको भनाई छ । कोईलाबास क्षेत्रमा वडा कार्यालयबाट प्राप्त १० कट्ठा जग्गामा गढवा गाउपालिकाको आर्थिक लगानीमा आंखा उपचार केन्द भवनको निमार्ण कार्य सम्पन्न भएको छ र केही समय भित्र नियमित आंखा उपचार सेवा शुरुवात गर्ने तयारी गरेको उनले बताएका छन् ।

यस्तै पाँच नम्वर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयबाट २० प्रतिशत लागत सहभागितामा राप्ती तथा लमही आंखा अस्पतालको उपकरण खरिदको लागि ५० लाख रुपैया बजेट सहयोग प्राप्त भएको थियो । उक्त रकमबाट राप्ती आंखा अस्पतालमा अप्रेशन गर्ने मेशिन फ्याको इमलसिफिकेशन र लमही आंखा अस्पतालको लागि आंखाको पर्दा जांच गर्ने मेशिन खरिद गरिएको सचिव खड्काले बताएका छन् । यसरी बेलाबेलामा आफुहरुलाई राज्यबाट विभिन्न शिर्षकमा सहयोग हुदै आएको उनले बताएका छन् । सोहि अवसरमा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय महासचिव सुसील बस्नेतले सामाजिक सेवामा काम गर्ने संघसंस्था सवैलाई एउटै दर्जामा तुलना गर्न नहुने बताएका छन् ।

निस्वार्थ रुपमा समाज सेवा गर्ने सामाजिक संघसंस्थालाई राज्यले सक्दो साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए । विगतको तुलनामा अहिले राज्यले समेत साथ दिएको अवस्थामा आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन उनले सुझाव समेत दिएका छन् ।
अस्पतालका मेडिकल डाईरेक्टर शुभलक्ष्मी कट्वालको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव सर्मिला डिसी, राप्ती समाचार दैनिकका सम्पादक बसन्त आचार्य, मानव अधिकारकर्मी निर्मल नेपाली र राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासनिक समिति संयोजक चिरणजिवी रिजाल लगाएतले बोलेका थिए । सो अवसरमा अस्पतालका बरिष्ठ अधिकृत सम्सेर थापाले अस्पतालको स्थापनाकाल देखी सन् २०१९ डिसेम्वर सम्मको प्रगती विवरण सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया