छत्रेश्वरी गाउँपालिकामा १०१ जनाको जागिर अन्यौलमा,करार थप्न माग गदै सातै वडा कार्यालयमा तालाबन्दी

दाङ १२ असोज । सल्यानको एक गाउँपालिकामा करार कर्मचारीहरु म्याद थप गर्नुपर्ने माग राख्दै आन्दोलित भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको सात वटै वडामा कार्यरत करार कर्मचारीले करार अवधी थप गर्नुपर्ने माग राख्दै आईतवार गाउँपालिकाको सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन । गाउँपालिकाका सात वटै वडा कार्यालय कार्यरत १०१ जना कर्मचारीको गएको असार मसान्तमा करार अवधी सकिएको छ ।

चालु आर्थिक वर्ष वितेको दुई महिना वितिसक्दा पनि उनीहरुको करार अवधी थप भएको छैन ।गाउँपालिकाले करार अवधी थप नगरेपछि करारमा काम गदै आएका उनीहरुले एक संघर्ष समिति गठन गरी अहिले आन्दोलित भएका छन् । आफुहरुको माग पूरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताएक छन् । दबाव स्वरुप आईतवार गाउँपालिकाका सात वटै वडामा तालाबन्दी गरिएको बताउदै उनले तालाबन्दीबाट पनि समस्या समाधान नभए मंगलवारबाट गाउँपालिकाको कार्यालयमा धर्ना बस्ने उनले चेतावनी दिएका छन् ।

गाउँपालिकाको सात वटै वडामा कार्यरत १०१ जना करार कर्मचारी मध्ये ६५ जना वडा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् भने बाँकी अन्य सामाजिक परिचालक, शिक्षक, अहेव र अनमी पनि रहेका छन् । यता गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मेघराज भण्डारीले गएको असारमा उनीहरु सवै जनाको करार अवधी सकिएको बताएक छन् । तर जनप्रतिनिधि र राजनितिक दल विच सहमती नहुदा उनीहरुको करार अवधी थप्ने विषयमा निर्णय हुन नसकेको उनले बताएका छन् ।

जनप्रतिनिधिहरु विच सहमती नहुदा चालु आर्थिक वर्षको बजेट समेत पारित हुन नसकेको बताउदै वडा अध्यक्ष भण्डारीले करार कर्मचारीको विषय पनि रोकिएको बताएका छन् । विगतमा ६÷६ महिनामा करार कर्मचारीको म्याद थप गदै आएकोमा यस पटक सहमती हुन नसकेको र थप छलफल भईरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया