कोरोना संक्रमित माथी विभेद,कतै सुविधा कतै बाध्यता

 तुलसीपुर ४ असोज । गएको भदौ २९ गते पश्चिम दाङको शान्तीनगर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र उनका गाडी चालक सहित १७ जनामा कोरोना संक्रमण देखीयो । त्यसपछि उनीहरु मध्ये १५ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा रातारात पठाईयो भने प्रमुख प्रशासकिय अधिकृत र चालकको ईच्छा अनुसार तुलसीपुरको बिगवेली होटेल आईसोलेसनमा बसे ।त्यस्तैगरी गत विहिवार गाउँपालिकामा थप एक अटो चालक सहित चार जनामा कोरोना संक्रमण देखीयो ।उनीहरु चारै जना कोरोना विशेष अस्पताल बेलुझण्डी जान मानेनन् ।उनीहरुले होम आईसोलेसनमै बस्न चाहे ।सोहि अनुसार उनीहरु होम आईसोलेसनमै बसेका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा पनि कतिपय संक्रमित होम आईसोलेसन र होटेल आईसोलेसनमै बस्ने गरेका छन् । तुलसीपुरमा हाल सक्रिय संक्रमित मध्ये २५ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका छन् भने ४ जना होम आईसोलनमा बसेका छन् । उनीहरु आफनो ईच्छा अनुसार होम आईसोलेसनमा बस्न पाएका हुन् ।तर भदौ २९ गते १७ जना संक्रमित मध्ये शान्तीनगर ५ की एक महिलाले पनि आफु होम आईसोलसनमै बस्ने ईच्छा गरिन् । यद्यपी उनको त्यो ईच्छा पुरा हुन पाएन । उनको श्रीमान् विदेश र घरमा साना बालबालिका हुदा उनले होम आईसोलेसनमै बस्ने धेरै चाहाना गरेपनि कसैले आफनो कुरा नसुनेको उनको गुनासो छ ।

यस्तै उनी संगै संक्रमित बनेकी कैलालीको टिकापुर घर हाल सोहि वडामा एक संस्थाको शाखा प्रमुखको रुपमा काम गदै आएकी महिला पनि होम आईसोलेसनमै बस्ने सोचमा थिईन् ।यद्यपी उनको पनि त्यो चाहाना पुरा भएन ।शाखा प्रमुखको समेत कुरा सुनुवाई नभएपछि उनी पनि अहिले बेलझुण्डी आईसोलेसनमा बस्दै आएकी छन् । दुवै महिलाले आफुहरु होम आईसोलेसन बस्न मन गर्दा पनि कसैले वास्ता नगरी जवरजस्ती कोरोना विशेष अस्पताल बेलझुण्डीमा पठाएको उनीहरुको गुनासो छ । आफुहरु अहिले अस्पतालमा बाध्यता बस्नु परेको उनीहरुले बताएका छन् ।नयाँ संक्रमित र पुराना संक्रमित अथवा लक्षण विहिन र लक्षण देखीएका संक्रमितलाई एकै ठाउँमा राख्ने गरिएको छ ।
साथै कर्मचारी र स्वास्थ्यकर्मीको मनलाग्दी लापरवाही भएको र उनीहरुले संक्रमितहरुलाई कुनै वास्ता नगरेको बताईएको छ । जसले गर्दा आफुहरु त्रासमा दैनिकी विताउनु परेको उनीहरुको भनाई छ । शौचालय पनि महिला पुरुष सवैले प्रयोग गर्ने एउटै भएको उनीहरुले बताएक छन् ।पहुचवाला र ठुलाबडाले आफनो ईच्छा अनुसार बस्न र खान पाउने तर हामी जस्ता पहुँच नभएका सर्वसाधरण नागरिकको कुनै कुरा सुनुवाई नगरिदिने सरकार प्रति आरोप लगाएका छन् । आफुहरु माथी सरकारले विभेद गरेको उनीहरुको गुनासो छ । आफुहरु संगै संक्रमित भएका हुने खानेहरुलाई होम आईसोलेसन र होटेल आईसोलेसनमा बस्न दिएको र आफुहरुलाई होम आईसोलेसनमा बस्न नदिएर विभेद गरेको उनीहरुको आरोप छ ।
कोरोनाले धनीगरिब छुट्याउदैन
विश्वभर माहामारीका रुपमा रहेको कोरोना भाईरस संक्रमण दाङ सहित देशभर फैलिएको छ ।यो संक्रमण देशभर मानिसहरु साना ठुलो नभनि फैलिएको छ ।कोरोनाले धनीगरिव, समुदाय , बर्ग, उमेरसमुह , धर्म केहि पनि छुट्याएको छैन । संक्रमणले जुनसुकै मानिसलाई जतिबेला पनि आक्रमण गदै आएको छ ।दाङमा मात्रै नवजात शिशु देखी जेष्ठ नागरिक सम्मका मानिसलाई कोरोना संक्रमण भएको छ भने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलाई समेत संक्रमण देखीएको छ । कोरोना संक्रमण जो सुकैलाई पुष्टि भएपनि आखिरी उनीहरु सवै संक्रमितको सुचीमा पर्दछन् ।तर त्यही कोरोना संक्रमित सुचीमा परेका सर्वसाधरण नागरिक सरकारी आईसोलेसनमा बस्नु पर्ने बाध्यता छ भने कर्मचारी देखी उच्च तहका व्यक्तिहरु सुविधा सम्पन्न होटेल अथवा होम आईसोलेनमा बस्ने गरेका छन् ।
संक्रमितलाई हेर्ने दृष्टिकोणमा पनि विभेद
समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण पनि फरक भएको कतिपयको भनाई छ । कर्मचारी, जनप्रतिनिधि, राजनितिक दल लगाएत उच्च तहका व्यक्तिलाई कोरोना संक्रमण हुदा उनीहरुको नाम समेत सार्वजनिक गर्दा कुनै नकारात्मक प्रभाव पदैन । तर सर्वसाधरण नागरिकलाई कोरोना संक्रमण देखीएमा उनीहरुको नाम गोप्य राख्नुको साथै घरपरिवारलाई समेत समाजले तिरस्कार गर्ने गरेको संक्रमित पिडितहरुले बताएका छन् । उच्च तहका व्यक्ति संक्रमित हुदा सवैले हौसला र प्ररेणा दिने गरेको बताउदै उनीहरुले आफुहरु जस्ता नागरिक संक्रमित हुदा समाजबाटै विभेद हुने,घरपरिवार समेत हेपिनु पर्ने अवस्था रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया