कोरोना माहामारीलाई अवसरको रुपमा लिएका छौ :प्रम ओली

काठमाडौ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को महामारीलाई सरकारले अवसरको रूपमा लिएको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ सङ्क्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको टिप्पणी गरे ।

माहामारी नियन्त्रणका लागि चालिएका कदमहरूको समीक्षा गर्दा अहिलेसम्मको कामको तस्विर उराठलाग्दो नभइ उत्साहजनक देखिएको उनको भनाइ छ । ९ माघ २०७६ मा कोभिड १९ को पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएर नमूना विदेश पठाउनु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले देशभर ४७ आरटी पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको जानकारी दिँदै परीक्षणको दैनिक क्षमता २३ हजार ५ सयभन्दा धेरै रहेको बताए ।

जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने सरकारको अनुमानित प्रतिबद्धता पूरा भएको उनको भनाइ थियो । नेपालमा हाल आईसीयू बेड क्षमता १५ सय ५१ बाट २६ सय र भेन्टिलेटर ७ सय ७० बाट ९ सय पु¥याइएको प्रधानमन्त्रीले जानकारी दिए । पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६ सय ४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको उल्लेख गर्दै प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया