दाङमा ४ जना संक्रमित थपिए

दाङ, २६ भदौ । दाङमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणमा घोराहीका ३ जना र दंगीशरण गाउँपालिकाका १ जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय, वडा नम्बर १७ का २० वर्षीय र वडा नम्बर १८ का ६८ वर्षीय पुरुष रहेका छन् । यस्तै, दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको छ । दाङमा थप ४ जनामा कोरोना देखिएसँगै जिल्लामा हालसम्म ८५१ जनामा कोरोना पुष्टि भएको छ ।

ती मध्ये ७३९ जना उपचारपछि निको भई डिस्चार्ज भइसकेका छन् । फोकल पर्सन चन्दका अनुसार बाँकी ११० जनाको विभिन्न आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ । जस अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा २२ जना, देउखुरी स्थित कोरोना आइसोलेसन सेन्टर मौरीघाटमा १४ जना, पद्योदय आइसोलेसनमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, जिल्ला बाहिरका आइसोलेसनमा १२ जना र सबै भन्दा बढी होम आइसोलेसनमा ६७ जना उपचाररत छन् ।

जिल्लामा सबैभन्दा बढी प्रभावित घोराही उपमहानगरका नागरिक भएका छन् । अहिलेसम्म घोराहीमा ३४६ जना कोरोना संक्रमित भएकोमा २८४ जना निको भइसकेका छन् भने ६० जना अझै सक्रिय संक्रमित रहेका छन् । यस्तै, दंगीशरणका २ जना, शान्तिनगरका ३ जना, तुलसीपुरका ३२ जना, लमहीका १ जना, राप्ती गाउँपालिकाका ७ जना, गढवाका ३ जना र राजपुरका २ जना गरी ११० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया