मदिरा वा सूर्तिजन्य पदार्थमा उपहार र छुट दिन नपाइने

काठमाडौ, २३ भदौ । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री गर्न पाउने छैनन् । साबिकको भ्याटमा दर्ता पैठारीकर्ता र विक्रेताका लागि मात्रै दिन पाइने सुविधा संशोधनले परिमार्जन गरेको हो ।

यसअघि मदिरा, वियर वा सूर्तिजन्य पदार्थ सम्बन्धी उद्योगले त्यस्तो वस्तुको पैठारीकर्ता तथा तिनका बिक्रेताका लागि उपहार कार्यक्रम सञ्चालन गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएकालाई मात्रै छुट थियो ।भ्याटमा दर्ता नभएकाहरुका लागि मात्रै नपाइने उक्त व्यवस्था अहिले सबैका लागि निषेध गरिएको छ । कसैले यस्तो कार्य गरेको पाइए इजाजतपत्र उल्लघंन गरेको ठहरिने ऐनमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया