पहिलो बाढि ,दोस्रोमा सडक दुर्घटना

तुलसीपुरमा विपद जोखिम नक्साङकन

 तुलसीपुर , ८ भदौ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र सम्भावित विपद जोखिममा पहिलो बाढि र दोस्रोमा सडक दुर्घटना रहेका छन् । उपमहानगरपालिकाले तयार पारेको विपद जोखिम नक्साङकन पुस्तिका २०७६ मा सवै भन्दा बढि सम्भावित जोखीम बाढि र दोस्रोमा सडक दुर्घटनालाई उल्लेख गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडालाई समेटेर तयार पारिएको नक्साङकन पुस्तिकामा बाढि , पहिरो, सडक दुर्घटना, आगलागी र माहामारी रोगव्याधी गरी पाँच वटा विषयलाई सम्भावित विपदको सुचीमा राखीएको छ । हरेक वर्ष अविरल बर्षातका कारण खोला तथा नदीमा आउने बाढिले गर्दा धेरै मानविय बस्ती तथा भुभाग सम्भावित जोखिमको सुचीमा रहेका छन् ।

बबई नदी, पातुखोला , ग्वारखोला सहित विभिन्न स.साना खहरले खोलामा आएको बाढिले गर्दा वडा नम्वर १ देखी १९ वटै वडाका विभिन्न स्थानलाई बाढिको सम्भावित जोखिमको सुचीमा राखीएको छ ।पुस्तिकामा उल्लेख भए अनुसार कतिपय स्थानमा अविरल बर्षा, खोला किनार तथा छेउछाउमा बस्ती बढ्दै जानु, ढल निकास व्यवस्थित नहुनु, खोलामा तटबन्ध नहुनु , र नदी तटिय क्षेत्रमा अव्यवस्थित बस्ती बस्नु लगाएतको कारणले त्यस्ता बस्ती र क्षेत्रलाई विपदको सम्भावित जोखिम मानिएको छ । त्यस्ता सम्भावित जोखिमलाई न्युनीकरण गर्नका लागी नितिगित रुपमा तटबन्ध निर्माण, पक्की बाँध निर्माण, आरसीसी निर्माण ,बृक्षारोपण र सचेतना जस्ता योजना तथा कार्यक्रमलाई दिर्घकालिन, मध्येकालिन र अल्पकालिन गरी तिन प्रकारमा विभाजन गर्न आवश्यक ठानिएको विपद व्यवस्थापन शाखाले जनाएको छ ।

यस्तैगरी तुलसीपुर क्षेत्रमा सवारी दुर्घटनाको विषय पनि सम्भावित विपद जोखिमको दोस्रो सुचीमा परेको छ । वडा नम्वर १ देखी १९ वटै वडामा सम्भावित दुर्घटनाको क्षेत्रहरुको पहिचान गरी नक्साङकन पुस्तिकामा यस्तो उल्लेख गरिएको छ । जसमध्ये तुलसीपुर बजार क्षेत्रको प्रमुख केन्द्र विपि चोक, विरेन्द्र चोक , पिपलबोट चोक र पातुखोला पुलचोकलाई सम्भावित सडक दुर्घटनाको जोखिम सुचीमा राखीएको छ । ती क्षेत्रमा दुर्घटना हुनुको प्रमुख कारण साघुरो सडक भएको उल्लेख गरिएको छ ।

यसलाई रोकथाम तथा न्युनीकरणका लागी सडक फराकिलो बनाउनु पर्ने, ट्राफिक व्यवस्थापनलाई मजबुद बनाउनु पर्ने, जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने जस्ता कार्ययोजनालाई कार्यन्वयन गर्नुपर्ने पुस्तिकामा उल्लेख गरिएको छ । तुलसीपुरमा आगलागीका घटनाहरु पनि हुने गरेका छन् । त्यसकारण तुलसीपुरका १९ वटै वडामा आगलागीको सम्भावित क्षेत्रहरुको पहिचान गरीएको छ । आगलागी हुनुको प्रमुख कारण मानविय लापरवाही , बन जंगल नजिक बस्ती, हावाहुरी, खरको छानो र विद्युतीय वितरण लगाएतका रहेका छन् । यस्तैगरी पहिरो र माहामारी तथा रोगव्याधीको जोखिम पनि उत्तिकै रहेको छ । समग्र विपदलाई मध्येनजर गदै तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिले पुस्तिका तयार पारेको विपद शाखा प्रमुख भिम प्रकाश केसीले जानकारी दिएका छन् ।

पहिरो र माहामारीको जोखिम नभएका वडाहरु
तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको विपद जोखिम नक्साङकन पुस्तिका २०७६ को आधारमा सम्भावित विपद जोखिमको सुचीमा बाढि,सडक दुर्घटना र आगलागी सवै वडामा भएको पाईएको छ । तर विपद मध्येकै पहिरो र माहामारी भने तुलसीपुरका केहि वडामा जोखिम नभएको उल्लेख गरिएको छ । पुस्तिका अनुसार वडा नम्वर ६, १०,१४,१६ र १८ मा पहिरोको सम्भावित जोखिम छैन । विपदको अन्य जोखिम भएता पनि पहिरोको कुनै जोखिम भएको उल्लेख छ । यस्तैगरी माहामारीको सम्भावित जोखिम वडा नम्वर ४, १४ र १८ मा नभएको पुस्तिकामा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया