आज तिजको अन्तिम दिन अर्थात ऋषि पन्चमी

दाङ, ७ भदौ ।

हिन्दु नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तिज)को आज अन्तिम दिन । तिजको अघिल्नो दिन दरखाने र तिजको दिन निराहार ब्रत बस्ने प्रचलन रहेको छ । सोहि अनुरुप गएको बिहिबार दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाउने गरिन्छ ।

भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तृतीयाका दिन हरितालिको व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया