नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौ, ४ भदौ ।

वितेको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार नौ सय ६४ पुगेको छ ।

अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् ।गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया