आज वुवाको मुख हेर्ने दिन

दाङ, ३ भदौ ।
आज कुसे औँसी अर्थात वुवाको मुख हेर्ने दिन । हरेक वर्ष भाद्रकृष्ण औंसीका दिनमा कुसेऔंसी पर्व मनाउने गरिन्छ । साथै आजको दिनमा घरघरमा पवित्र कुश भित्रयाउने चलन छ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्ने चलन छ । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

आजकै दिन छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्दछन् ।यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ । साथै कतिपय छोराछोरीले आफना वुवालाई मन पर्ने खानेकुरा र मन पर्ने कपडा लगाएत बस्तु उपहार स्वरुप दिने गर्दछन् । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया