कर्णाली प्रदेशका तिन जिल्लामा निषेधाज्ञा घोषणा

दाङ, १ भदौ ।

कर्णाली प्रदेशका तीन जिल्लामा आज (सोमवार)बाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक÷पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडबाड र समुदायस्तरमा संक्रमण पुग्न थालेपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया