जाजरकोटका दर्जन बढी ग्रामीण सडक अवरुद्ध

जाजरकोट ३२, साउन / बाढी–पहिरोको कारण गत असारदेखि जाजरकोटका दर्जन बढी ग्रामीण सडकमा यातायात अवरुद्ध भएका छन् । ग्रामीण सडकमा यातायात अवरुद्ध हुँदा स्थानीयलाई जिल्लाभित्र र बाहिर आउजाउ गर्न समस्या भएको छ । नलगाड नगरपालिकाको छेप्का देखि कैना सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैना लगाएत स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण छेप्का कैनाका लागि छुट्ने गाडी कालिमाटी छेप्कामा थन्किएका छन् ।

छेप्का कैना सडकको पहिरो ब्यबस्थापन तथा सडकको स्तरोन्नति नहुदा यात्रुलाई सास्ती भएको छ । यातायात अबरुद्ध भएपछि टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ लगाएत दुर्गम गाउँमा विकास निर्माण तथा दैनिक उपभोग्य बस्तु दुवानी गर्न समस्या भएको कैनाका स्थानीय व्यापारी बीरेन्द्र खड्काले बताए । दुइ रुपैया प्रति केजी ढुवानी हुने सामान अहिले ६ देखि ८ रुपैया केजीमा ढुवानी हुने गरेको छ, खड्काले भने ।
यसंगरी पहिरोले कालीमाटी–बारेकोट सडक तथा घोरेटो बाटो अवरुद्ध बनाएपछि बारेकोटमा विकास निर्माण सामग्री तथा दैनिक उपभोग्य बस्तु ढुवानीमा समस्या भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । कालिमाटीबाट घोडा खचचड र मान्छे आउजाउ गर्ने सहज बाटो नहुदा ढुवानी महंगो भएको घाटका व्यापारी मीमबहादुर सिंहले बताए ।

बाटो अफ्ठेरो हुदा प्रति किलो २० देखि २५ रुपैंयामा सामान ढुवानी गर्नु पर्छ लिम्साका स्थानीय व्यापारी झलक घर्तीले बताए । जाजरकोटका ग्रामीन सडकमा ६ महिना यातायात संचालन हुन बाँकी ६ महिना सडक बन्द हुने गरेका छन । यसैगरी छेडा, थलहबजार, टापुचौर, खलंगा –पाँचकाटीया लगायत सडकमा यातायात अवरुद्ध भएका हुन् । यातायात सेवा अवरुद्ध भएपछि दुर्गममा दैनिक उपभोग्य बस्तु ढुवानी गर्न निकै कठिन भएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया