सिल्धुपाल्चोकमा पहिरो : १६ जनाको शव फेला,अझै २३ जना वेपत्ता

काठमाडौ, ३१ साउन ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ । शनिवार थप ५ जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १६ पुगेको जिल्ला प्रहरी कार्यालय सिल्धुपाल्चोकले जानकारी दिएको छ । उनीहरु सबैको परिचय खुलेको छ ।घटनामा परेका सोहि ठाउँका १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।

यस्तै शुक्रवार ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो । पहिरोमा पुरिएर शनिवार जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने भेटिएका दावा ग्याल्बो दोङसहित अन्य ५ जना घाईतेको चौतारा र काठमाण्डौमा उपचार भैरहेको छ ।

शुक्रवार विहान त्यस ठाउँमा पहिरो गएको थियो । पहिरोमा परि ३९ जना बेपत्ता भएका थिए । यो समाचार तयार पार्दा सम्म पहिरो परि अझै २३ जना बेपत्ता भएका छ्न । उनीहरुको स्थानिय र सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको प्रहरीले बताएको छ । पहिरोले एउटा बस्ती नै बगाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया