लमहीमा बजार अनुगमन,केहि व्यापारीलाई हजारौ रुपैया जरिवाना गरियो

शिवु खनाल, दाङ, २२ साउन ।
दाङ–लमही नगरपालिका वडा नम्बर ५ लमही बजारका एक व्यापारीले कर छली गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज र लमही नगरपालिकाको संयुक्त अनुगमनको टोलीले बिस हजार रुपैया जरिवानामा गरेको छ । यस्तै संयुक्त अनुगमनको टोलीले लमहीकै अर्का गोल्डी जनरल स्टोरबाट पसलका संचालकले बिक्रि वितरण गर्नका लागि राखिएका म्याद गुज्रेका सामान बरामद गरि नष्ट गरेको छ । संयुक्त अनुगमनको टोलीले गोल्डी जनरल स्टोरबाट कबिर पाँच हजार बराबरको म्याद गुज्रेका पाउडर, कपालमा घस्ने तेल लगायतका सामाग्री बरामद गरि नष्ट गरिएको छ ।

अनुगमनका क्रममा सबै जसो पसलहरु नवीकरण नगरेको पाईएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज बाँके र लमही नगरपालिकाले लमही बजारको संयुक्त रुपमा अनुगमन गरेको टोलीले लमही नगरपालिका वडा नम्बर पांच अन्तर्गत बजार क्षेत्रमा रहेका जानकी मेडिकल, लमही सर्जिकल हाउस, कौशल हार्डवयर, पुनम हार्डवयर, अक्सफोर्ड कम्प्युटर सप्लायर्स, गोल्डी जनरल स्टोर्स लगायतका पसलहरुमा अनुगमन गरेको हो ।

पहिलेको तुलनामा अहिले व्यवसायीहरु अलि सचेत भैसकेको अनुगमन टोलीले जनाएको छ । विभागले तोकेको मापदण्ड नगरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्यालले उनीहरुलाई सचेत गराउदै आएको र म्याद गुज्रेका सामान बिक्रि गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्न नपाईने, त्यस्ता सामाग्री फेला परे तुरुन्तै कारबाही गरिने उनले बताए ।

अनुगमनका क्रममा कौशल हार्डवयरका संचालक शुशिल कुमार सोनीले बिल बिना कारोबार गर्ने गरेको, कर चुक्ताको प्रमाणपत्र नभएको, अनुगमनको टोलीलाई बिल देखाउन नसकेको र कर छली गरेको भन्दै बीस हजार रुपैया जरिवाना गरिएको छ । त्यस्तै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले एकहप्ता भित्र जरिवाना रकम कार्यालयको खातामा दाखिला नगरे थप कानुनी कारबाही प्रक्रिया अघि बढाईने कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालले बताए ।
टोलीले लमही बजार क्षेत्रमा अनुगमन गरेका पसलहरुलाई जुन बस्तुको खरिद र बिक्रीका लागि अनुमति पाएको हो उक्त बस्तु निश्चित मुल्यमा बिक्रि गर्न अनुरोध गरेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज बाँकेले बितेको आर्थिक वर्ष २०७६÷७७ मा तेत्तिस व्यवसायीलाई कारबाही गरेको थियो जस मध्ये दाङका तिनवटा व्यवसायी जो लकडाउनका बेला स्थानिय जनतालाई मास्क, सेनिटाईजर जस्ता स्वास्थ्यका सामग्री तोकिएको भन्दा दोब्बर मुल्यमा बेचेका थिए, उनै व्यवसायीलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । बाँकेको नेपालगंजमा रहेको यस कार्यालयले कर्णाली प्रदेशका पुरै जिल्ला र प्रदेश नं. ५ बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम र प्युठान हेर्ने गर्दछ ।

कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्याल, कार्यालयका खरिदार सुरेसराज पौडेल, ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, लमही नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५का वडाध्यक्ष बिमबहादुर केसी, लमही नगरपालिका कृषि शाखा प्रमुख अमरकुमार चौधरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे, वडा प्रहरी कार्यालय लमहीका सहायक प्रहरी निरीक्षक कमल पौडेल र पत्रकारको टोलीले अनुगमन गरेको हो ।

बणिज्य अध्यक्षको पसलमा छैन मुल्यसुचि
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज र लमही नगरपालिकाको संयुक्त अनुगमनको टोलीले देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको पुनम इन्टरप्राईजेट (पसल)मा मुल्यसुचि नदेखेपछि पसलमा मुल्यसुचि टास गरेको छ । विहिवार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज र लमही नगरपालिकाको संयुक्त अनुगमनको टोलीले लमही बजार क्षेत्रमा निस्किएको अनुगमनको टोलीले अध्यक्ष रत्नप्रसाद श्रेष्ठको पसलमा मुल्यसुचि नदेखेपछि संयुक्त अनुगमनको टोलीले मुल्यसुचि बनाउन लगाएर टास गरेको हो ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया