तीन जिल्लाको संगम स्थलमा रहेको गुफा ओझेलमा

शिवु खनाल,देउखुरी, २० साउन ।
पूर्वपश्चिम राजमार्ग स्थित धान खोलामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । प्रदेश ५ का तीन जिल्लाको संगम स्थल धान खोलामा रहेको गुप्तेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ जाबुने सामुदायिक वनमा रहेको उक्त गुफाको बारेमा धानखोलाका स्थानीय समेत अनविज्ञ छन् ।

गढवा गाउँपालिका वडा नम्बर १ धानखोलाका रमेश सिंजालीले आफुहरुले गुफाको छ भन्ने मात्रै सुनेपनि गुफासम्म नपुगेको बताए । उनले भने“नजिकैबाट गुफाले देख्ने हामीले नदेखे जस्तै भएको छ,यहाँ आसपासका नयाँपुस्तालाई थाहा नै छैन ।” पछिल्लो पटक गुप्तेश्र गुफाको विस्तारै संरक्षण र प्रचारप्रसार थालिएको छ । हाल सम्म गुफाकै बारेमा अनविज्ञ रहेका सरोकारवालाले यस बारेमा खोज अनुसन्धान गर्न थालेका छन् ।

अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कपिल आलेले आफुहरु धानखोलामा रहेको गुप्तेश्वर गुफाको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने योजनामा रहेको बताए । उनले भने,“हामीले पहल थालेका छौ, गत आर्थिक बर्षमा एकलाख ५० हजारको लागतमा खोला देखि गुफासम्म पुग्ने सिंढी र रेलिङ निर्माण गरेका छौ,थप बजेट विनियोजन गरेर यसको संरक्षण गछौ ।” १५ जती भित्र सम्म जान सकिए पनि अध्यारो भएकाले विना उज्यालो जान समस्या छ ।

अप्ठेरो ठाउँमा रहेकाले सहजै अवलोकन गर्न जाने अवस्था नरहेको उक्त गुफाको नामकै बारेमा पनि धेरै थरी मत छ । थारु समुदायले दिलबाबा गुफा भन्ने गरेका छन भने केहिले नागेश्वर गुफाको नामले चिन्दछन । महेन्द्र राजमार्ग नजिकै रहेको गुप्तेश्वर मन्दिरका कारण गुप्तेश्वर गुफा भन्न थालिएको हो । गुफाको संरक्षण र प्रचारप्रसारमा छिमेकी पालिकाले पनि चाँसो देखाउन थालेका छन् । गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले प्राकृतिक गुफाको संरक्षणमा आफुहरुले पहल थाल्ने बताउनुभयो । उनले भने,“छिमेकी जिल्लाका पालिकासंग समन्वय गरेर यसै आर्थिक बर्षमा गुफासम्म पुग्न सडक वनाउँछौ ।”अनुसन्धानकर्ता उदयराज आलेले गुप्तेश्वर गुफाको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भिात्राउन सक्ने प्रशस्त सम्भावना भएपनि सिमा क्षेत्रमा भएका कारण पनि गुफा ओझेल पर्न गएको बताए ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया