शल्यक्रियामार्फत सुत्केरी : विश्व स्वास्थ्य संगठनको गाइडलाइन पछ्याउँदा हामी बर्बाद हुँदैछौँ

काठमाडौं। झापा गौरादह नगरपालिकाकी २७ वर्षीया पूजा गर्भवती भएको सात महिना भयो। अबको दुई महिनामा उनले सन्तानलाई जन्म दिनेछिन्। पेटमा हुर्किरहेको बच्चालाई कसरी जन्म दिने भन्ने सोच उनले बनाइसकेकी छन्।

“व्यथा लाग्दाको पीडा अरूको देखेरै थाहा पाइसकेको छु। सम्झँदा नै डर लाग्छ। नर्मल (बिना शल्यक्रिया/प्राकृतिक) रूपमा बच्चा जन्माउन सक्दिनँ कि भन्ने लाग्छ। त्यसैले शल्यक्रिया गर्ने सोचमा छु,” उनले सुनाइन्।

भेट्वाल मात्र होइन अहिले अधिकांश गर्भवती महिलाको सोच यस्तै पाइन्छ। उनीहरू शल्यक्रिया गरेर बच्चा जन्माउन रूचाउँछन्। धेरै जना अहिले प्राकृतिक रूपमा बच्चा जन्माउने कुरा सुन्नेबित्तिकै तर्सिने गरेको पाइन्छ।

किन त?

“केही वर्षयता नेपालमा सुत्केरी गराउँदा शल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन बढ्नुको प्रमुख कारण रूढीवादी परम्परा हो,” स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्, “साथै, नेपालमा विदेशी प्रवृत्ति हावी हुँदा पनि प्राकृतिक रूपमा बच्चालाई जन्म दिन महिलाहरूको आत्मबल कमजोर भएको छ।”

केही वर्षअघि डा. रिजाल प्रसूतिगृहमा काम गर्थे। त्यहाँ काम गर्दाको अनुभव अन्य अस्पतालको भन्दा फरक छ उनको। डा. रिजाल भन्छन्, “तत्काल डेलिभरी गर्नुपर्ने भन्दै बिरामीका परिवारले नै दबाब दिन्थे। समय पनि उनिहरूले नै तोक्थे।”

उनका अनुसार गर्भवती महिलाले नै शल्यक्रियामा जोडबल दिन थालेपछि शहरी तथा ग्रामीण क्षेत्रका अस्पतालहरूले शल्यक्रियाको क्षमता बढाउँदै लगेका छन्। शल्यक्रियामार्फत सुत्केरी गराउनु एउटा बाध्यात्मक अवस्था हो।

खासमा प्रसव पीडा सुरू भएको बेला आमा वा बच्चामा कुनै समस्या देखिएमा तथा प्रसव पीडा सुरू भएको लामो समय बितिसक्दा पनि सुत्केरी हुन सकेन भने शल्यक्रियाको बाटो रोज्नु पर्ने हो। तर, नेपालमा बच्चा जन्मिनु अगावै गर्भवती स्वयंले शल्यक्रिया गर्ने मानसिकता बनाइसकेका हुन्छन्।

“शल्यक्रिया गर्दैमा जोखिम टर्दैन। रहर, साइत र शल्यक्रिया गर्ने विदेशी निर्देशिका हेर्नुभन्दा आमाको स्वास्थ्य अवस्था जाँच गर्नु पहिलो प्राथमिकता हो।”

“आजभोलि बिरामी सिधै आएर म नर्मल गराउँदिन शल्यक्रिया गर्दिनू भन्छन्,” डा. रिजाल सुनाउँछन्। यस्तो अभ्यासले अस्पताल, डाक्टर र बिरामीबीचको सम्बन्ध चिसिँदै गएको उनको अनुभव छ।

डा.रिजालका अनुसार कुनै पनि सुत्केरीमा जटिल समस्या आए शल्यक्रिया वरदान हुन्छ। तर, आवश्यक नै नभएकाले शल्यक्रिया गर्दा वरदान अभिसापमा परिवर्तन हुन बेर लाग्दैन।

“शल्यक्रिया गर्दैमा जोखिम टर्दैन। रहर, साइत र शल्यक्रिया गर्ने विदेशी निर्देशिका हेर्नुभन्दा आमाको स्वास्थ्य अवस्था जाँच गर्नु पहिलो प्राथमिकता हो,” उनले भने।

नेपालमा शल्यक्रियाबारे अध्ययन अनुसन्धान भएकै छैन। वषौँदेखि विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार नेपालमा शल्यक्रियाको अभ्यास हुँदै आएको छ।

“यो अभ्यास नेपालीहरूका लागि सुहाउँदो छैन,” डा. रिजाल भन्छन्, “विदेशमा शल्यक्रिया गर्नुपर्ने अवस्था भएका महिलाहरूको अध्ययनमा नेपाली महिलाहरूको उचाई, तौल, वनावट र भौगोलिक परिवेश मिल्दैन। विश्व स्वास्थ्य संगठनले दिएको गाइडलाइन पछ्याउँदा हामी बर्बाद हुँदैछौँ।”

नेपालको सबैभन्दा ठूलो तथा बढी सुत्केरी गराउने थलो थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हो। उक्त अस्पतालमा आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार १४७, २०७४/७५ मा ६ हजार ८२ र २०७५/७६ मा सात हजार ३१८ जनाले शल्यक्रिया गरी बच्चालाई जन्म दिएको तथ्यांक छ। एउटा अस्पतालमा हरेक वर्ष कम्तीमा हजारको दरले शल्यक्रिया गरी बच्चा जन्माउनेको संख्या बढिरहेको उक्त तथ्यांकले देखाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार आव २०७३/७४ मा भन्दा २०७४/७५ मा सात प्रतिशतले शल्यक्रिया गरी बच्च जन्माउनेको संख्या बढेको छ। सबैभन्दा बढी शल्यक्रिया बागमती प्रदेशमा हुने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। बागमती प्रदेशमा सुत्केरी हुनेमध्ये ३० प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए।

औषधि तथा अन्य आवश्यक सामग्री सजिलै उपलब्ध हुने र सुरक्षित हुने विश्वासले शल्यक्रियाप्रति आकर्षण बढेको चिकित्सक बताउँछन्।

“गर्भवती महिलाले प्रसव पीडा सहन नसक्ने, चाँडै आत्तिने र नर्मल डेलिभरी जोखिम ठान्ने भएकाले शल्यक्रियाको दर बढ्दै गएको हो,” डा. रिजालले देखापढीसँग भने।

आजभोलि महिलाहरू योजना बनाएर ३० देख ३५ वर्षको उमेरमा गर्भवती हुन्छन्। परिवारले सानो जोखिम पनि लिन चाहँदैन। शल्यक्रियाका लागि दम्पतिले नै अनुरोध गर्ने, आमा वा बच्चालाई केही भएमा अस्पताल र चिकित्सकमाथि हातपात हुने खतराले शल्यक्रिया हतारको खेल हुने गरेको डा. रिजालको बुझाइ छ। तर, उनीहरूमा शल्यक्रिया पनि खतराको घण्टी हो भन्ने जानकारी हुँदैन।

“बच्चा जन्माउने अन्तिम विकल्प शल्यक्रिया नै हो, तर विशेषगरी शहरी क्षेत्रमा आजभोलि शल्यक्रिया पहिलो रोजाइ बनेको छ। यसले संकट टर्नेभन्दा बढ्ने देखिन्छ। किनकि, हामीले विदेशी अध्ययनको आधारमा शल्यक्रिया गरिरहेका छौँ,” डा.रिजालले चिन्ता व्यक्त गरे।

नेपालमा शल्यक्रिया कुन अवस्थामा गर्ने वा नगर्ने अध्ययन भएको छैन। निकट भविष्यमा यसबारे अध्ययन अनुसन्धान भए स्वयम्सेवा गर्न आफू तयार रहेको डा. रिजाल बताउँछन्।

आमाको स्वास्थ्य चेकजाँचपछि गरिने नर्मल डेलिभरीका फाइदाहरू:

  • पाठेघर खुल्ने र बच्चा जन्मिदाको पीडा आमामा महसुस गराउने।

  • बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता बढी हुने।

  • कृत्रिम घाउ नहुने।

  • आमाले बच्चालाई लगत्तै आफ्नो दूध खुवाउन सक्छन्, जुन बच्चाको लागि अमृतसरह हुन्छ।

  • आमा र बच्चाबीचको सम्बन्ध झन् घनिष्ठ बनाउँछ।

  • थोरै रगत बग्छ।

  • भित्री आङमा क्षति हुँदैन।

  • अस्पतालमा धेरै समय बस्नु पर्दैन।

  •    देखापढीबाट

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया