देउखुरीको मुसिनाकामा विद्युत पुग्यो

शिवु खनाल, देउखुरी, १४ साउन ।
यस अघि मुसिनाकामा विद्युत थिएन । नेपाल भारत सिमा क्षेत्रमा रहेको मुसिनाका गाउँमा विद्युत् नहुँदा सम्पुर्ण गाउँ अन्धकार थियो । बत्ती बलेको हेर्न शहर बजार जानु पर्दथ्यो। आफ्नो गाउँमा विजुली बत्ती बलेको हेर्ने सपना थियो स्थानियलाई। भारतबाट मट्टीतेल ल्याएर टुकी बाल्दै जिवन गुजारा गरियो तर, अब त्यो बाध्यता अन्त्य भएको गढवा गाउँपालिका वडा नम्बर ८ मुसिनाका निवासी प्रेम बुढाले बताए । लामो प्रयास पछि जनप्रतिनिधिले बिद्युत लाइन बिस्तार गरि मुसिनाकामा बिजुली बाल्न पाउने अबसर दिएको भन्दै बुढाले वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीलाई खुशी हुदै धन्यवाद भने । उनी जस्तै सवै स्थानिय अहिले खुशी छन् ।
‘जनप्रतिनिधिले हामीलाई अन्धाकारबाट मुक्ती गराउनु  भयो उनले भने जनप्रतिनिधि हुनु र नहुनुमा धेरै फरक हुदो रहिछ । वडाध्यक्ष सिद्धिकीले भने आफुले धेरै संघर्ष गरेर यस ठाउँ सम्म विद्युत ल्याउन सफल भएको बताएका छन् । ‘मुसिनाकामा विद्युत् बाल्ने सपना आज साकार भयो । मकै पिस्न र मोबाइलचार्ज गर्न भारतको बालापुर जानु पर्दथ्यो अब यो बाध्यता टरेको छ उनले भने ।’
नाकामा विद्युत् पुग्नु अघि नाकालीहरुको दिनचर्या टुकी र दियालोमै चलेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताए । उनले भने ‘चुनाब जित्नुअघि जनतासंग बोलेको बाचा आज पुरा भएको छ, स्थानीय नागरिक जत्तिखुसी हुनुहुन्छ म पनि उत्तिकै खुसी छु । मेरो क्षेत्रलाई मेरै कार्यकालमा झिलिमिलि बनाउने योजना बनाएको छु । मेरो एकल प्रयासले मात्रै पुग्दैन । जनताको पनि उतिकै साथ र सहयोग चाहिन्छ मलाई । गढवा गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३५ लाख गरि कुल ४५ लाखको लागतमा मुसीनाकामा बिद्युत्त बलेको हो ।’ कोइलाबास देखि खबरीनाका हुदै भौवानाका जोड्ने बिद्युत् लाइन बिस्तारको काम अगाडी बढीरहेको छ ।
गढवा गाउँपालिका र नेपाल बिद्युत् प्राधिकरणसंगको समन्वय सहकार्यमा यस बर्ष खबरीनाका सम्म बिद्युत् बिस्तार हुदै गरेको र सो अभियान भौवानाका सम्मको रहेको उनले बताए । वडा कार्यालयको ३० लाख बजेटबाट काम अगाडी बढ्दै छ त्यसमा बिद्युत् प्राधिकरणको पनि लगानी छ वडा अध्यक्ष सिद्दिकीले भने । नेपाल भारतको सिमा क्षेत्रमा रहेको मुसीनाकामा एक कार्यक्रमका बिच बुधवार बिद्युत् वालेर उद्घाटन गरिएको छ । वडाअध्यक्ष सिद्दिकी र नेपाल बिद्युत् प्राधिकरण गढवा शाखाका प्रमुख काँसी चौधरीले संयुक्त रुपमा बिद्युत्तको स्विच थिचेर उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया