रुकुममा भारी बर्षा,पहिरोले घर पुरिदा दुई जनाको मृत्यु, चार जनाको सकुशल उद्धार

दाङ, १३ साउन ।

रुकुम पश्चिममा भारी बर्षा भएको छ । बर्षाकै कारण आएको पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।गएराती परेको अविरल बर्षातका कारण मंगलवार विहान चार बजेतिर आएको पहिरोले बाँफिकोट गाउँपालिका ९ स्यालाखेत स्थित हस्त बहादुर सुनारको घर बगाउदा सोहि घरका २२ बर्षिय नविन सुनार र छिमेकी १६ बर्षिय बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख ठग बहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार हस्तबहादुरकी आमा ६० वर्षकी झुपी , श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको सकुसल उद्धार गरिएको हो । घटना स्थलमा प्रहरी निरीक्षक हरि वलिको कमाण्डमा थप प्रहरी परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

तिन घर उच्च जोखिममा

बाफिकोट गाउँपालिका ४ स्थित स्यार्पुदह जाने सडक खण्डमा रहेका घर तथा पसलहरुमा पहिरोले क्षति गरेको छ । लगातार बर्षातका कारण आएको पहिरोले स्थानिय ५ वटा घूम्ति पसलमा १० लाख वरावरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । साथै सोहि ठाउँका अन्य ३ वटा घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख केसीले जानकारी दिएका छन् । सोमवार देखी जिल्लामा भारी बर्षा भएको छ । मंगलवार पनि बर्षा जारी रहेको प्रहरीले बताएको छ । वर्षाले गर्दा विभिन्न स्थानमा हुने सम्भावित घटनालाई मध्येनजर गदै जिल्लामा प्रहरी परिचालन गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया