सेनाको कुटाईबाट युवकको मृत्यु भएपछि छानबिन सुरु

काठमाडौँ — ९ साउन

चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक युवकको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको नेपाली सेनाले बताएको छ । आज बिहान नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन सुरु गरिसकेको उल्लेख गरेको हो ।

‘नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदछौं । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेका राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको बुधबार मृत्यु भएको थियो ।  सेनाको कुटपिटबाट छोराको मृत्यु भएको भन्दै बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया