तुलसीपुरमा श्रम गर्नेलाई भन्दा श्रम नगर्नेलाई धेरै चामल बाँडियो

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर, ७ साउन ।

तुलसीपुर उपमहानगरपालिकामा श्रम गर्नेलाई भन्दा श्रम नगर्नेलाई धेरै चामल बाँडिएको एक तथ्याङकले देखाएको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालयले दिएको विवरण अनुसार श्रम बैंक मार्फत श्रम गर्ने ९१७ लाई २७ हजार १४५ केजी चामल दिईएको छ । तर श्रम नगर्ने ७ हजार ९०९ घरपरिवारलाई १ लाख ५० हजार ९३८ केजी चामल वितरण गरिएको छ । बन्दाबन्दीका कारण तुलसीपुर उपमहानगर भित्र बसोबास गर्ने विपन्न नागरिक समस्यामा परेपछि पहिलो र दोस्रो चरणमा राहात वितरण गरिएको थियो । जसमा पहिलो चरणमा नगरका १९ वटै वडामा रहेका मजदुरी गरीखाने तथा विपन्न बर्गहरुको पहिचान गरी राहात स्वरुप १ लाख ५० हजार ९३८ केजी चामल वितरण गरेको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन् ।

जसमा दाल ४ हजार ८११ केजी, तेल ४ हजार ४४७ लिटर, नुन ६ हजार ४८५ केजी र ५ हजार ५५४ वटा सावुन वितरण गरिएको थियो । तर पहिलो चरणको राहात वितरण गर्ने क्रममा कतिपय ठाउँमा हुनेखाने बर्गले समेत राहात पाएको खुलेपछि दोस्रो चरणको राहात वितरणलाई श्रम संग जोडिएको थियो । उपमहानगरपालिकाले बास्तविक मजदुरको पहिचान गर्न काम गर्ने नागरिकलाई मात्रै राहात दिने भन्दै श्रम बैंक स्थापना गरी काम र खाद्यन्न दिएको हो । उपमहानगरपालिकाका सुचना अधिकार न्यौपानेका अनुसार श्रम बैंक मार्फत श्रम गरेबापत उनीहरुलाई चामल, दाल, नुन, तेल र साबुन दिईएको हो ।

उनका अनुसार श्रम गर्ने ९१७ जनालाई जम्मा २७ हजार १४५ केजी चामल, १४६४ केजी दाल,९८२ लिटर तेल, १०४७ केजी चामल,१२५३ वटा सावुन वितरण गरिएको हो । दोस्रो चरणमा विशेषगरी काम गर्ने नागरिकलाई मात्रै उनीहरुको कामको आधारमा खाद्यन्न दिईएको हो । यद्यपी काम गर्न नसक्ने, जेष्ठ नागरिक, असाहाय, असक्तहरु नागरिकलाई वडा अध्यक्ष, संघसंस्थाहरुको सिफारिसमा श्रम बिना नै उनीहरुलाई परिवार संख्याको आधारमा खाद्यन्न दिईएको सुचना अधिकारी न्यौपानेले जानकारी दिएका छन् ।
फुड बैंकमा २७ हजार बढि चामल संकलन
तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा २७ हजार बढि चामल संकलन भएको छ । सुचना अधिकारी न्यौपानेका अनुसार चामल २७ हजार ८७५ केजी, दाल १४७५ केजी, तेल २८२० लिटर , सावुन ६४८० वटा र १७१० केजी नुन संकलन भएको हो । फुड बैंकमा विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरुले खाद्यन्न सहयोग गरेका छन् । यस्तै उनका अनुसार मेयर बिपद कोषमा ५३ लाख १९ हजार १३३ रुपैया जम्मा भएको छ । विभिन्न दाताहरुले आर्थिक सहयोग गरेका हुन् ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया